ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) ले विजया दशमी २०६९ को अवसरमा फार्नबरोस्थित पहिले ओकफार्म कम्युनिटी स्कूल रहेको भवनमा रमाइलो भेटघाट तथा सांस्कृतिक कार्यक्रम आयोजना ग-यो।

नेपालको राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्रदल देवानले विजया दशमीको अवसरमा सबैलाई शुभकामना दिनुभयो। उहांले समाजको गत वर्षका उपलब्धिहरुका बारे चर्चा गर्दै वयोवृद्ध गोर्खा सैनिक तथा उहांहरुको परिवारकालागि गुणस्तरीय तथा सुपथ सेवा उपलब्ध गराउन गोर्खा केयर होम सर्भिस शुरु गर्न लागिएको जानकारी पनि दिनुभयो।

उहांले नयां युवा जस्ता किशोर, किशोरीहरुको प्रयासको सह्राहना गर्दै यसबाट गोर्खा युवा तथा र स्थानीय युवाहरुबीच सद्भाव तथा सहयोगको अभिवृद्धि गर्न मदत पुग्ने धारणा पनि राख्‍नुभयो। सोही अवसरमा अध्यक्ष देवान, नयां युवाकी अध्यक्ष शिला श्रद्धा लिम्बु एवम् उपाध्यक्ष राज गुरुङले ६०१ पाउण्डको चेक युनिटी फुटबल क्लबका कोच केभिन डेललाई हस्तान्तरण गर्नुभएको थियो।

रात्री भोजपछि शुरु भएको सांस्कृतिक कार्यक्रममा ७१ वर्षीय गायक सेवानिवृत्त क्याप्टेन बीरमान थापाले दर्शकहरुको तालीको गडगडाहटकाबीच पुराना सदाबहार गीतहरु गाउनु भएको थियो। त्यस्तै फोर व्याण्डका कुल बहादुर थापा, सुरज गुरुङ लगायतले गीत तथा धुन प्रस्तुत गर्नुभएको थियो। यमुना, मेलिना, एलिना लगायतका किशोरीहरुले नेपाली चलचित्रका गीतहरुमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए। बिजिडब्लुएस रेडियोसंग संबद्ध नीलिमा राईले पनि आफ्नो नयां एल्बमको एउटा गीत सुनाउनु भएको थियो। सोसाईटीका संस्कृति सचिव सोम रानाले सन्चालन गर्नुभएको कार्यक्रममा बिजिडब्लुएसका जनसंपर्क अधिकृत प्रकाश गुरुङले सबैलाई स्वागत गर्नुहुंदै विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको थियो।

झण्डै डेढ घण्टा चलेको सांस्कृतिक कार्यक्रम पछि बिजिडब्लुएसका सदस्य तथा परिवारहरु नाचगानमा सहभागी भएका थिए।