बीजीडब्लूएसको नवौं वार्षिक भेटघाट सम्पन्न By: प्रकाश गुरुङ Posted On: 2012-07-20 23:18:35 फानवरो । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बीजीडब्एस)को नवौं वार्षिक भेटघाट पुरानो ओक फार्म स्कूल फानवरोमा गत १४ जुलाई शनिबारका दिन सम्पन्न भयो । गोर्खाहरुका हकहितका लागि स्थापित उक्त संस्थाले विगत वर्षहरुमा धेरैनै सफलता हासिल गरेको छ । यूकेमा नेपालीहरुकै पहिचान बोकेको कम्युनिटी रेडियो सेवा रेडियो बीजीडब्लूएस ११७९ ए.एम. संस्थाकै गोर्खा भवनबाट प्रशारण एक सफल उदाहरणका लागि लिन सकिन्छ । खराब मौसम र फानवरो एयर शो को हल्ला भए तापनि कार्यक्रम सफल भएको जिकिर आयोजक पदम राईले गरे । त्यस्तै ग्यास्गोबाट आएका क्या.रि. दिलबहादुर गुरुङ पनि रमाइलो माहोल देखेर दङ्ग परेका थिए । किनभने ग्यास्गोमा अझै पनि नेपाली परिवारहरुको संख्या औलामा नै गन्न सकिने अवस्था छ । फोक्स्टन, केन्टबाट आएका मे.रि.हर्कराज राई भन्छन्, “भौगोलिक दृष्टिले हामी टाढा भए तापनि हाम्रो संस्थाप्रतिको माया र सफल कार्यका लागि सधैं तत्पर छौं, त्यही भएर नै कुनै सालको भेटघाट पनि छुट्टाएका छैनौं” । कार्यक्रम मुख्य गरी तीन भागमा गरिएको थियो । सफल कामका लागि सम्मान, आर्थिक सहयोग हस्तान्तरण, अध्यक्ष र उपाध्यक्षबाट संस्थाका गतिविधिबारे जानकारी । संस्थाका दुई सदस्य स्व. प्रेमप्रकाश नेम्वाङ र स्व. प्रेमराज राईका लागि केही आर्थिक संकलन गरिएको थियो । श्रीमती प्रेमराज राई कारणवश उपस्थित हुन सकनेन् । श्रीमती चित्र नेम्वाङलाई संकलित पा“च सय पाउण्ड श्रीमती मिलन देवानले प्रदान गरिन् । संस्थाका सक्रिय सदस्य रकम सिङ लिम्बूले ५५ वर्षको उमेरमा पनि समाजशास्त्र विषयमा बीएससी अनर्स सफलतापूर्वक अध्ययन पूरा गरेको अवसरमा उनलाई अध्यक्ष मे.रि. टिकेन्द्र दल देवानले खादा लगाई बधाई दिए । “यूरोपियन कोर्ट अफ ह्यूमन राईट्स”मा पठाइएको मुद्दाका सामग्रीलाई नेपालीमा अनुवाद गरेका राजेन्द्रकुमार क्षेत्रीलाई पनि अध्यक्षले धन्यवाद दिए । समान पेन्सन मुद्दाका लागि भारी रकमको जरुरत थियो र छ । संस्थाले विभिन्न प्रक्रियाबाट रकम संकलन गरेको वेभसाइडमा जानकारी राखिएको छ । एकै सालमा भर्ती भएका गोर्खा सैनिकहरुलाई नम्वरी, गल्ला वा इन्टेक भनेर चिनिन्छ । पेन्सन फन्डका लागि नम्वरीहरुबाट पनि आर्थिक संकलन गर्ने प्रस्ताव भएको थियो । फलस्वरुप सबैभन्दा बढी रकम डिसेम्बर १९८७ इन्टेकले ३ हजार १ सय ५५ संकलन गर्यो । त्यसको मुख्य भूमिका गजबीर थापाले खेलेका थिए । अध्यक्ष देवानले डिसेम्बर १९८७ इन्टेकलाई सहयोगका लागि धन्यवाद दिँदै थापालाई खादा लगाई बधाई दिएका थिए । स्मरण रहोस् उक्त इन्टेकले जम्मा ७ हजार ६ सय ७३ पाउण्ड पेन्सन फन्डमा दिइसकेको छ । संस्थाका उपाध्यक्ष उमेन्द्र गुरुङले ११ जुलाईका दिन प्रधानमन्त्री कार्यालय, १० डाउनिङ्ग स्ट्रिटमा हस्ताक्षर बुझाउन गएकोबारे बोलेका थिए । बीजीडब्लूएस दश सदस्य टोली गुरुङको नेतृत्वमा गोर्खा संस्थाहरुको अनुरोधमा त्यहा“ पुगेका थिए । हरेक गोर्खा आन्दोलनमा संस्थाको समर्थन र सहभागी रहेको गुरुङले बताए । अध्यक्ष देवानले निर्भिकरुपमा भने, “बेलायतमा हाम्रो हिँड्ने बाटो सकिसक्यो, त्यही भएर यूरोपियन कोर्टमा मुद्दा पुर्याएका हौं ।” बेलायतमा जति नै आन्दोलन गरे पनि सफल हुने देखिँदैन । राजनीतिक दबाव, मन्त्री, सांसद र लर्डहरुसँगको छलफलबाट नै यो निष्कर्ष आएको हो । केही महिना अगाडि भेट्रेन मिनिस्टर रोवधनसँग भएको छलफलको स्मरण गराउँदै सरकार हाम्रो मागमा सकारात्मक छैनन् । “हामी नचाहेर पनि अन्तिम बाटो हिँड्नु नै प¥यो । त्यो बाटो हो, जसले गोर्खाहरुलाई अन्तिम न्यायको फैसला गर्दछ तर एकापसमा सहयोग र समर्थनको अति जरुरी छ । किनकि समान पेन्सन मुद्दामा सम्पूर्ण गोर्खाहरुलाई समेटिएको छ । सत्यमा विश्वास गरौं र सँगै अगाडि बढौं ।” देवानको भनाई थियो । कार्यक्रमलाई रमाइलो बनाउन रामधन राईले विभिन्न खेलहरु खेलाएका थिए । तमवोला र राफल ड्र पनि राखिएको थियो । जसको सञ्चालन छत्र राई र पदम राईले गरेका थिए । बीजीडब्लूएसकै सदस्य तर विभिन्न नेपाली संघ–संस्थाहरुमा पनि आबद्ध व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । जसमा तमू धिं यूकेका अध्यक्ष मुछेत्र गुरुङ, मगर संघ यूकेका अध्यक्ष मे.रि. कुलबहादुर थापा, राई यायोखाका अध्यक्ष रामधन राई, गुल्मी जिल्ला समाजका अध्यक्ष ओमप्रसाद थापा, फोक्स्टन नेपाली कम्युनिटीका अध्यक्ष मे.रि. हर्कराज राई र रेडियो बीजीडब्लूएसका निर्देशक मे.रि. सोनाम शेर्पा आदि थिए । खानाको बन्दोवस्त रियल गोर्खा रेष्टुरेन्ट क्याम्बर्लीले गरेका थिए । कार्यक्रम सञ्चालनको अभिभारा पीआर प्रकाश गुरुङले निभाएका थिए । अन्त्यमा सदाझै सामूहिक नृत्य भएको थियो ।